७ बैशाख २०८३, सोमबार

निश्छल जल र हरित पहाडको सिद्धान्त : नेपाली विज्ञहरू भन्छन्– प्रकृतिलाई विश्वविद्यालय मान्नुपर्छ, सीको अवधारणा विश्वव्यापी बन्नुपर्छ

काठमाडौँ । पर्यावरणीय सभ्यता भएमात्र दिगो विकास सम्भव भएकाले चिनियाँ राष्ट्रपति सी चिनफिङको अवधारणा विश्वभर नै लागू हुनुपर्ने नेपालका विज्ञहरूले बताएका छन्। ‘फ्रेन्ड्स अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स’ ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थविद्हरू, वातावरणविद् र संविधानसभा सदस्यले यस्तो धारणा राखेका हुन्। चीनले अवलम्बन गरेको पर्यावरणीय सभ्यताको अभ्यास र नेपालले ध्यान दिनुपर्ने विषयमा गहन छलफल भएको थियो।

कार्यक्रममा बोल्दै वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले प्रकृतिलाई नै विश्वविद्यालय मानेर हिंड्नुपर्ने धारणा राखे। उनले भने, ‘हरेक मानवको पहिलो विश्वविद्यालय प्रकृति नै हो। निश्छल जल र हरित पहाडको सिद्धान्त आजको विश्वको मुख्य आवश्यकता हो। यदि हामी प्रकृतिबाट टाढा भयौं भने राजनीति, अर्थनीति, संस्कार र संस्कृति सबै दूषित हुन्छन्।’ उनले चिनियाँ राष्ट्रपतिको पर्यावरणीय सभ्यताको अवधारणालाई व्यवहारमा उतार्न सकेमात्र भावी पुस्ताको भविष्य सुरक्षित हुने बताए।

डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनि सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्धता अनिवार्य रहेको बताए। उनले प्रकृतिसँग खेलबाड नगर्ने, विकासको नाममा वातावरण नष्ट नगर्ने, र दिगो विकासका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए। डा. सञ्जयनाथ खनालले दिगो विकासको मान्यतालाई आत्मसात गर्दै सुरक्षित र अझ सुन्दर पृथ्वी आउँदो पिंढीलाई हस्तान्तरण गर्नुपर्ने विचार राखे। उनले चीनको ‘ग्रीन डेभलपमेन्ट’ को मोडल नेपालका लागि समेत उपयुक्त हुने बताए।

संविधानसभा सदस्य विनोद पहाडीले नेपालका पहाड नाङ्गो हुन थालेकोमा गहिरो चिन्ता व्यक्त गर्दै विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘हामीले चीनबाट सिक्नुपर्छ – कसरी आर्थिक विकासलाई निरन्तरता दिँदै वातावरणको संरक्षण गर्न सकिन्छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २००५ मा नै विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा ल्याएका थिए। त्यसको पछाडि हामी धेरै पछि परिसकेका छौं।’ कार्यक्रममा संस्थाका अध्यक्ष शोभित उप्रेतीले समेत वातावरण संरक्षण र दिगो विकासबीचको अन्तरसम्बन्धबारे धारणा राखेका थिए।

विज्ञहरूले चीनको ‘निश्छल जल र हरित पहाड’ (Lucid Waters and Lush Mountains) को अवधारणालाई नेपालले पनि आत्मसात गर्नुपर्नेमा जोड दिए। उनीहरूका अनुसार हिमाल, पहाड र तराईको अद्वितीय भौगोलिक विविधता भएको नेपालमा पर्यावरणीय सभ्यता नै दिगो विकासको आधार हो। तर बढ्दो अनियन्त्रित सहरीकरण, जङ्गल फडानी, र प्रदूषणले वातावरणीय सन्तुलन बिगार्दै गएको छ। चीनको प्रगतिलाई नजिकबाट हेरिरहेको भन्दै उनीहरूले नेपालले पनि हरित ऊर्जा, जैविक विविधता संरक्षण, र प्राकृतिक स्रोतको दिगो उपयोगमा ठोस नीति ल्याउनुपर्ने धारणा राखे। अन्तरक्रियाले एउटा स्पष्ट सन्देश दियो – प्रकृतिसँगको द्वन्द्व होइन, प्रकृतिसँगको सहअस्तित्व नै हाम्रो मुक्ति हो। चिनियाँ राष्ट्रपतिको पर्यावरणीय सभ्यताको अवधारणा अब नेपालका लागि पनि समयको माग बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button