पुल जोगाउन मानव ढाल बने इरानी, हामीले झण्डा ओढेरै जलायौं संसद : राष्ट्रियताको अर्थ कता?

# संकेत किराँती
अमेरिका र इजरायलले इरानको भौतिक संरचनामाथि बमबारी गर्ने धम्की दिएपछि इरानीहरूले विश्वलाई एउटा अविस्मरणीय सन्देश दिएका छन्। विदेशी शक्तिले आफ्नो मुलुकमाथि धावा बोल्दै गर्दा १ करोड ४० लाख इरानी नागरिक राष्ट्रिय झण्डा लिएर सडकमा उत्रिए। उनीहरू हातमा हतियार लिएर आएनन्, बरु आफ्नो पुल, सडक र शहरको रक्षाका लागि मानव साँङ्ग्लाे (ह्युमन चेन) बनेर उभिए। सामाजिक सञ्जालमा आएका केही दृश्यहरूले साँच्चै नै विश्व जगतको ध्यान ताने। युवा र पुरुषहरू मात्र होइन, महिला, बालबालिका समेत मानव साँङ्गेलाेमा सहभागी देखिए। उनीहरूको सन्देश थियो, ‘हामी सकिन तयार छौं, तर मुलुक सकिन दिँदैनौं।’
अहवाज शहरको ‘सेतो पुल’ (पोल–इ सेफिद) जोगाउन सपरिवार उभिएका इरानी नागरिकले अर्को उदाहरण दिए। यो पुल इरानी इन्जिनियरिङ क्षमताको प्रतीक मात्र होइन, यसले सदियौंदेखि दुई शहरलाई जोड्दै आएको छ। इतिहास र पहिचानसँग जोडिएको संरचनाको रक्षाका लागि उनीहरू ज्यानै दिन तयार भए। ‘हजारौं पुल बनाउन सकिन्छ, तर यो पुलसँग हाम्रो इतिहास जोडिएको छ, यसको रक्षा गर्नुपर्छ’ भन्ने भावना उनीहरूमा थियो। उनीहरू भागेनन्, बरु परिवारसहित मर्न तयार भए। इरानी नागरिकले आफ्नो भौतिक संरचनासँग जोडिएको इतिहास, पहिचान र पुर्खाको सम्झनाका लागि आफू माथि मुलुकलाई राखे।

तर यसको ठीक विपरीत, नेपालमा केही महिनाअघि ‘डिप स्टेट’ को निर्देशनमा राष्ट्रिय झन्डा ओढ्नेहरूले सिंहदरबार, अदालत, संसद भवन, शीतल निवाससहित सयौं सरकारी तथा निजी सम्पत्तिमा आगजनी गरे। खुसी मनाए। हाम्रो मुलुकमा राष्ट्रिय झन्डा ओढेर राष्ट्रिय सम्पदा खरानी बनाइयो। नेपाली सेना मूकदर्शक बन्यो। आफ्नै देशको भौतिक संरचना जलाउँदा उनीहरूलाई कुनै पीडा भएन। प्रश्न उठ्छ राष्ट्रिय झन्डा ओढ्दैमा कोही राष्ट्रवादी हुँदैन भन्ने उक्ति नेपालको सन्दर्भमा साँचो सावित भएको छ। झण्डा त ओढियो तर त्यस झण्डालाई अपमान हुने काम पनि झण्डा ओढ्नेहरूले नै गरे।
इरानीहरूले रणनीतिक महत्वको क्षेत्रमा मानव ढाल बनेर आफ्नो देशको सम्पत्ति जोगाउन खोजे, तर नेपालमा हाम्रा केही ‘राष्ट्रभक्त’ ले राष्ट्रिय झण्डा ओढेर सिंहदरबारदेखि संसद भवनसम्मका सार्वजनिक सम्पत्ति जलाए। संविधान सभा भवन, अदालत, सरकारी कार्यालयमा आगो लगाए। यी संरचनाहरू पनि नेपाली जनताको करले बनेका हुन्। यी संरचनाहरूसँग पनि हाम्रो इतिहास, हाम्रो लोकतन्त्रको संघर्ष, र हाम्रा सपनाको कथा जोडिएको छ। तर उनीहरूले यी सबैलाई नष्ट गर्नमा गर्व महसुस गरे।
यसले दुई देशको राष्ट्रियताको अवधारणा कति भिन्न छ भन्ने प्रश्न पनि उठाएको छ। इरानमा भौतिक संरचना जोगाउन मानिसहरू मर्न तयार हुन्छन्, नेपालमा भौतिक संरचना नै नष्ट गर्ने काममा सहभागीहरू राष्ट्रवादी बन्न पुग्छन्। मुलुकको समृद्धिमा सबैले आफूभन्दा माथि मुलुक राखेमा मात्र सम्भव छ। इरानी सन्देशले हाम्रो मुलुकका नागरिकमा पनि केही चेतना परिवर्तन गर्ला कि ? इरानी नागरिकप्रति उच्च सम्मान।
‘डिप स्टेट’ को परिकल्पना वा निर्देशनले साँचो राष्ट्रभक्तिलाई परास्त गर्न सक्छ ? वा हामीले इरानीहरूबाट सिक्नुपर्छ ? आफ्नो देशको सम्पत्ति, संरचना र इतिहासप्रतिको मोह र ममता नै साँचो राष्ट्रप्रेम हो। जुन नेपालमा केहीले प्रदर्शन गर्न सकेनन्। पुल हजारौं बन्न सक्छन्, तर ज्यान र इतिहास एकपटक मात्र जान्छ। इरानीहरूले त्यो बुझे। हामीले बुझ्न बाँकी नै छ।
तर प्रश्न यथावत छ, के हामीले पनि राष्ट्रिय सम्पत्तिलाई आफ्नो परिचयको अंश ठान्ने ? वा विदेशी निर्देशनमा आफ्नै घर जलाउने पीढीको रूपमा इतिहासमा दरिने ? जवाफ चाहिँ हामीले नै दिनुपर्छ। इरानको ‘सेतो पुल’ (पोल–इ सेफिद) अहवाज, खुजेस्तान प्रान्तमा अवस्थित छ। त्यही पुलको रक्षाका लागि इरानी जनता मानव साँङ्ग्लाे बन्न पुगे। तर हामीकहाँ संसद भवन, सिंहदरबार, शीतल निवास र अदालत जस्ता लोकतन्त्रका प्रतीकहरूलाई आगोको शिकार बनाइयो। यो तीतो यथार्थले हामी सबैलाई सोच्न बाध्य बनाएको छ। साँचो राष्ट्रभक्ति भनेको के हो ? जवाफ हामीले नै खोज्नुपर्छ।





