७ बैशाख २०८३, सोमबार

‘सपना’ जो नियति होइन, नियतिको लेखक बनिन्

आख्यान र यथार्थको घेराभित्र एउटा नामको सङ्घर्ष

# लक्की चन्द

उनको नाम नै एउटा विरोधाभासको कथा बोकेर आएको थियो। दुई छोरीपछि घरमा भएको तेस्रो गर्भको आशा र उमङ्गले सबैलाई भनेको थियो ‘यसपटक छोरा नै हुनेछ।’ तर जब प्रसव वेदनाको अन्त्य भयो, प्रकृतिले परिवारको आशालाई चकनाचुर पार्दै तेस्रो छोरी नै जन्माइदियो। जीवनको यो पहिलो नै अप्रत्याशित मोड थियो, जहाँ उनको उपस्थिति परिवारका लागि कुनै पर्वको आगमन नभई एउटा चाहनाको अन्त्यको प्रतीक बन्यो। आमाबुवाले उनको नाम राखिदिए, सपना। अर्थात, त्यो कुरा जो आँखा खोलेपछि हराउँछ, जसलाई चाहेर पनि पाउन सकिँदैन।

नवलपरासीको रामग्राम गाउँमा गोविन्दबहादुर प्रधान र राधा प्रधानकी कान्छी सन्तानका रूपमा २०२० साल कात्तिक २९ मा जन्मिएकी यही सपना, आज नेपाली न्यायपालिकाको सर्वोच्च आसनमा आसीन छिन्। तर, यहाँसम्मको यात्रा कुनै राजमार्गको सहज यात्रा थिएन। यो त तिनै बाल्यकालीन निराशा र अवरोधहरूलाई इन्धन बनाएर गरिएको एउटा अविरल पदयात्रा थियो। उनी भन्छिन्, “सायद त्यसैले मेरो स्वभाव नै केटाको जस्तो भयो। म सधैं केटाहरूको समूहमा हिँड्थें।” यो स्वीकारोक्ति कुनै पश्चातापको अभिव्यक्ति थिएन, बरु सामाजिक रूपमा निर्धारित ‘केटीपन’ को सीमालाई अस्वीकार गर्ने प्रारम्भिक विद्रोह थियो।

कपडाको संकेत र विद्रोहको पहिलो बीऊ

उनको यो स्वभावले चाँडै नै आकार लियो। गाउँघरमा समकालीन बालिकाहरू परम्परागत घाँघर र चौबन्दी चोलीमा सजिँदा सपनाको रोजाइ टिसर्ट र पाइन्ट हुन्थ्यो। एउटा प्रसङ्ग स्मरणीय छ, उनी त्यही पहिरनमा मेला हेर्न गएकी थिइन्। समाजको आँखाले त्यसलाई ‘छाडापन’ को सङ्ज्ञा दियो र बाटो काटेर उनका बुबाका कानमा विष वर्षायो, छोरीकाे विरुद्ध कुरा लगाइदिएछन्। फर्केपछि बुबाले कुटे। तर त्यो कुटाइले उनको शरीरलाई पो दुखायो, उनको मनोबललाई झुकाउन सकेन। उनले पहिरन फेरिनन्। “त्यो बेलै मलाई मन लागेको कपडा लगाउन पाउनुपर्छ भन्ने लाग्थ्यो, र मैले लगाएँ,” उनी भन्छिन्। सिमरन नापितद्वारा लिखित उनको जीवनी ‘जुडिसियरिज ड्रिम : सपना’ मा यो घटना सामान्य देखिन सक्छ, तर यही घटनाले उनको चरित्रको एउटा अमिट आधारशिला तयार पारिदियो। यदि नियम अन्यायपूर्ण छ भने त्यसलाई तोड्नुपर्छ। उनले घरभित्र काम गर्ने महिलामाथिको भेदभाव देखिन् र बोलिन्। उनी कहिल्यै चुपचाप मनभित्र कुरा खेलाएर बस्ने स्वभावकी थिइनन्।

कानुनको बाटो : एक सचेत महत्त्वाकांक्षा

जब उनले कानुन पढ्ने इच्छा प्रकट गरिन्, त्यो कुनै व्यक्तिगत पीडा वा अन्यायको प्रतिक्रियामा जन्मेको थिएन। बरु, यो त एउटा सचेत महत्त्वाकांक्षा थियो। उनलाई लाग्थ्यो, कानुनको आकाशमा मात्र उनका पखेटाहरूले पूर्ण फैलावट पाउनेछन्। काठमाडौंको नेपाल आदर्श विद्यालयपछि त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पस उनको पहिलो अखडा बन्यो। सहपाठी शशी अधिकारी आज पनि उनलाई एक अग्ली, आकर्षक र आवश्यक पर्दा आवारा केटाहरूलाई हकार्नसमेत पछि नपर्ने व्यक्तित्वका रूपमा सम्झन्छिन्। पढाइमा जत्तिकै अब्बल, अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अग्रणी। वक्तृत्वकलामा शशी स्वयंलाई पछि पारेर पहिलो हुने र नृत्यमा प्रशंसा बटुल्ने क्रम जारी थियो।

यसै बीचमा पुस्तकहरू उनको एकान्तका साथी बने। सातामा दुई वटा उपन्यास पढ्ने बानीले उनलाई एक गम्भीर पाठकको हैसियतमा उभ्यायो। सिड्नी शेल्डनका कृतिहरू, जहाँ कानुनी पृष्ठभूमिमा महिला पात्रहरू थ्रिलरको केन्द्रमा हुन्थे, उनको पहिलो रोजाइ बने। तर, उनको भविष्यको दिशा निर्धारण गर्ने पुस्तक भने ‘रेज अफ एन्जल्स’ बन्यो। त्यस उपन्यासले पुरुषप्रधान संसारसँग सङ्घर्षरत एक महिला वकिलको कथा भन्थ्यो। “यही उपन्यासले मलाई कानुन पढेर वकिल बन्न प्रेरित गर्यो,” उनको भनाइ छ। तैपनि, उनको जिज्ञासा पश्चिमा साहित्यमा मात्र सीमित रहेन; डायमन्डशमशेरका ‘सेतो बाघ’ र ‘वसन्ती’ हुँदै रामायण, महाभारत र गीतासम्मको यात्रा उनले जीवनको गूढ अर्थ खोज्नका लागि तय गरिन्।

ज्ञानको भोक र दिल्लीको क्षितिज

ल क्याम्पसको पुस्तकालयले उनको पठनको भोक मेटाउन सकेन। “हाम्रा सामग्री भनेकै शिक्षकले दिएका नोट थिए,” उनी त्यो समयको सीमिततालाई सम्झन्छिन्। यो भोकले नै उनलाई दिल्ली विश्वविद्यालयसम्म डोर्यायो। त्यहाँको विशाल पुस्तकालय देखेपछि बल्ल उनले साँचो अर्थमा पुस्तकालय के हो भन्ने बुझिन्। सहपाठी प्रकाशमणि शर्मा, नारायण बेलबासे र उपेन्द्र आचार्यसँगको त्यो शैक्षिक यात्रामा उनी सधैं अब्बल रहिन्। दिल्लीमै रहँदा उनले प्राध्यापक उपेन्द्र बक्सीको विचारबाट प्रभावित हुँदै ‘अदालतले निष्क्रिय होइन, सक्रिय भूमिका खेल्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसात गरिन्। यही मान्यता पछि गएर उनको न्यायिक दर्शनको मेरुदण्ड बन्यो।

विवाह : जिम्मेवारी र स्वतन्त्रताको अनौठो सन्धि

जीवनको अर्को मोडमा विवाह उपस्थित भयो। यो उनको व्यक्तिगत रोजाइभन्दा पनि तत्कालीन सामाजिक संरचनाको दबाब थियो। केही समय टारेपछि अशोकबहादुर मल्लसँग उनको विवाह भयो। तर, यो विवाहले उनको पढाइको बाटो छेक्न सकेन। बरु, उनले विवाहको तीन महिनापछि नै मास्टर्सका लागि भारत जाने इच्छा राखिन्। घरको जेठी बुहारी गएपछि घर कसले चलाउला भन्ने सासूको चिन्तामा ससुराले दिएको जवाफ उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो “उनी आउनुअघि पनि घर चलेको थियो, अब पनि चल्छ।” पति अशोक पनि साथमा उभिए। “मेरो ससुराले दिएको प्रेरणाकै कारण म आज यहाँसम्म पुगेकी हुँ,” उनी भावुक हुँदै भन्छिन्।

अधिकारको आन्दोलन र न्यायालयको ढोका

उनी नेपाल फर्किइन्, तर केवल एक वकिलका रूपमा मात्र होइन। फोरम फर वुमन, ल एन्ड डेभलपमेन्ट (एफडब्लूएलडी) को स्थापना गरेर उनले न्यायालय बाहिरबाट न्यायालयभित्रको सङ्घर्षको सुरुवात गरिन्। २०५० सालमा छोरीलाई पनि बराबर अंश हुनुपर्छ भन्ने रिट मीरा ढुंगानाको निवेदनमा उनले अघि बढाएको जगमा टेकेर एफडब्लूएलडीले मूर्त रूप लियो। त्यसपछि त सिलसिला नै चल्यो, वैवाहिक बलात्कारलाई कानुनी रूपमा अपराध घोषित गराउनदेखि त्यसको सजायलाई पाँच वर्षसम्म पुर्याउन उनले कहिल्यै पछाडि फर्केर हेरिनन्। सहकर्मी सविन श्रेष्ठका अनुसार, त्यो समयमा कार्यालय राति अबेरसम्म खुल्थ्यो र सपना नै त्यसको केन्द्रबिन्दुमा हुन्थिन्।

वैवाहिक बलात्कार र अंशको मुद्दाले निम्त्याएको सामाजिक विषवर्षालाई उनले सहजै लिइन्। “श्रीमतीको कोठामा पस्नुअघि मल्ल र ढुंगानालाई खबर गर्नुपर्छ” जस्ता व्यङ्ग्यहरूको कुनै प्रतिवाद नगरी उनी आफ्नो बाटोमा हिँडिरहिन्। आज पछाडि फर्केर हेर्दा मीरा ढुंगानालाई सबैभन्दा बढी प्रभाव पार्ने कुरा सपनाको यही अडिग रहने क्षमता हो।

हार्वर्डदेखि यातना विरुद्धको समितिसम्म

हार्वर्डको भ्रमणले उनलाई दुईवटा नयाँ आयाम दियो, कसरी विश्वव्यापी सम्पर्क सञ्जाल बनाउने र कसरी फरक स्वार्थ भएकाहरूलाई संवादको टेबलमा ल्याउने। सन् २०१४ देखि २०१६ सम्म संयुक्त राष्ट्रसङ्घीय यातनाविरुद्धको समितिमा सदस्य रहँदाको अवैतनिक अनुभवलाई उनी अमूल्य ठान्छिन्। “त्यहाँ सिकेको ज्ञानले न्यायाधीश भएपछि धेरै फैसलामा सहयोग गर्यो,” उनी भन्छिन्।

इजलासमाथिका प्रश्न र उनको नजरिया

यद्यपि, न्यायाधीश भएपछिका केही फैसलाहरू विवादरहित भने रहेनन्। प्रतिनिधिसभा विघटनका बेला अध्यादेशमार्फत भएको ५२ जनाको नियुक्तिलाई सदर गर्ने निर्णयमा उनी बहुमतमा उभिइन्। यसलाई कार्यपालिकाप्रतिको झुकावका रूपमा अर्थ्याइयो। सन्दीप लामिछानेको विदेश यात्रामा लगाइएको रोक हटाउने आदेशमा पनि उनी सहभागी थिइन्। यी विषयमा आलोचना हुँदा उनी शान्त रहन्छिन्। “कुनै पनि मुद्दामा हार्ने पक्ष असन्तुष्ट हुन्छ, आलोचना हुन्छ। मैले त्यसै रूपमा लिने गरेकी छु,” उनको जवाफ हुन्छ।

व्यक्तित्वको अर्को पाटो

यी सबै सङ्घर्ष र विवादको हलचलबीच पनि सर्वोच्च अदालतको उनको कार्यकक्ष फूल र बिरुवाका गमलाले हराभरा छ। उनी गल्फ खेल्छिन्, जिम जान्छिन् र फुर्सदमा घरमा पकाउँछिन्। दसैंतिहारमा गाउँ पुगेर परिवारसँग रमाउँछिन्। उनको साडीको प्रशंसा सुन्नु उनका सहकर्मीहरूका लागि सामान्य कुरा हो। उनी भन्छिन्, “साडीले फरक आत्मविश्वास दिन्छ।”

अन्त्यमा,

कुनै समय अरूकै निराशाको संवाहक बनेर ‘सपना’ नाम दिइएकी ती बालिका, आज नेपालको सर्वोच्च अदालतको कार्यभार सम्हालिरहेकी छन्। कायममुकायम प्रधानन्यायाधीशको पदमा रहँदा ‘कायममुकायम’ शब्दले अस्थायीपनको सङ्केत गर्ला, तर उनले बोकेको जिम्मेवारीको गुरुत्वाकर्षण र उनको उपस्थितिले न्यायालयमा पारेको प्रभाव भने निश्चय नै स्थायी र गहन छ।

श्राेत: विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामाग्री।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button