२२ बैशाख २०८३, मंगलवार

एउटी सामान्य कार्यकर्ताको असाधारण साहस : अमिसाको एक टिप्पणी र त्यसपछिको अमानवीय यातना

काठमाडौं – २३ भदौको त्यो दिन काठमाडौंको च्यासल र माइतीघर यतिस्सै गर्माएको थियो। बालेन शाह नेतृत्वको नवगठित सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेपछि एमाले कार्यकर्ता सडकमा उत्रिएका थिए। पार्टी सचिवालयको बैठकले देशव्यापी विरोधको निर्णय गरेको थियो र त्यही निर्घोष सुन्न जम्मा भएको भीडमा थिइन्– अमिसा पराजुली।

सूर्यविनायक नगरपालिका–७, गुण्डुकी अमिसा त्यसबेलासम्म सार्वजनिक वृत्तको रडारमा थिइनन्। बिजनेस स्टडिजमा स्नातक गरिरहेकी उनको दैनिकी आमनागरिकजस्तै सामान्य थियो। पार्टीप्रतिको आस्था र ओली पक्राउ गैरन्यायिक लागेपछि पार्टी कार्यालय पुग्नुलाई उनले तत्कालीन आवश्यकता ठानिन्।

च्यासलमा भएको प्रदर्शनपछि पार्टीको औपचारिक निर्णयबमोजिम माइतीघर पुगिन्। तर त्यो प्रदर्शन शान्तिपूर्ण थिएन। प्रहरीले लाठीचार्ज गर्यो, कार्यकर्ता घाइते भए। भीडमा कोही अराजक व्यवहारमा पनि उत्रिएका थिए। त्यही भीडमा उनी पनि थिइन्। एक जनाले प्रतिक्रिया लिन खोजेपछि उनले लोकतान्त्रिक हक प्रयोग गरेर तर्क राखिन्। क्यामेराले त्यो क्षण कैद गर्यो र त्यसपछि त शुरु भयो उनीमाथिको अविरल साइबर आक्रमण।

सामाजिक सञ्जालमा उनको त्यो तस्बिरसँगै यस्ता कमेन्टहरू वर्षिए–

“हान्नुपर्छ, एमालेको भूत उत्रिन्छ।”
“पागल्नी, आफ्नो खुट्टामा आफैँ बञ्चरो हानिछे।”

कोहीले त ‘केपी बा’को बुढेसकालको साहारा भाइरल नानी। कस्तो लाग्यो जोडी साथीहरू…’ भन्दै ओलीले उनलाई सिन्दुर हाल्दै गरेको एआई निर्मित फोटोसमेत बनाइदिए। निर्मला पन्त र इनिशा विकजस्तै हालत हुनुपर्नेसम्मका कमेन्टले उनलाई भित्रभित्रै धराशयी बनायो।

त्यो रात अमिसा ‘ब्रेकडाउन’ भइन्। एकैपटक इन्स्टाग्राम डिएक्टिभेट गरिदिइन्। बाहिर निस्कन सक्ने अवस्था रहेन। अर्को प्रदर्शनमा पनि जान पाइनन्। आफूले राखेको धारणाकै कारण सार्वजनिक रूपमा तिरस्कृत हुनुपर्यो। धम्कीहरूले झन् चिन्तित बनाइदिए। अहिले पनि उनी सहजै घरबाट बाहिर निस्कन सक्दिनन्। अन्जान नम्बरका कल उठाउन सक्दिनन्।

त्यसपछि त आफन्तका फोनहरूले पनि सताउन थाले। ती फोन सहानुभूतिका लागि थिएनन्, बरु ‘किन बोलिस्?’ जस्ता प्रश्नहरूले भरिएका थिए। कतिले त उनकी आमाको हुर्काइमै प्रश्न गरे। बाहिर यौन हिंसाको धम्की, भित्र आफन्तकै असहयोग– त्यो क्षण अमिसाका लागि दोहोरो मार बन्यो।

‘कोही मान्छेले बलात्कार गर्छु भनेर कमेन्ट गर्न सक्छ भने, उसको दिमागमा त्यो कुरा आइसकेको छ। दिमागमा आइसकेको छ भने साँच्चिकै गर्न पनि सक्छ। त्यही डरले मलाई थिच्यो,’ अमिसा भन्छिन्।

त्यही डरले उनी अहिले पनि मास्क लगाएर हिँड्छिन्। एक्लै घरबाट पठाउन परिवारले हिम्मत गर्दैन। अन्जान नम्बरको कल ‘टेक्स्ट मेसेज’ नआएसम्म ब्याक गर्दिनन्।

तर यो संघर्षको कथा उनका हजुरबुबाले सिकाएको पाठसँग पनि जोडिएको छ। एक वर्षअघि मात्र बितेका हजुरबुबा तत्कालीन मालेका अनुयायी थिए। सानैदेखि नातिनीलाई लोकतन्त्र, गणतन्त्र, राष्ट्रियताको पाठ पढाउँथे। ‘उहाँले मलाई अन्याय भएको लागे सडकमा ओर्लिन नडराउनु भन्नुहुन्थ्यो। विद्रोह भनेको के हो, त्यो उहाँले नै सिकाउनुभयो,’ उनी सम्झन्छिन्।

आमाले पनि कुन पार्टी राम्रो भनेर कहिल्यै भनिनन्, तर सही र गलत छुट्याउन सिकाइन्। आफ्नी छोरीले धारणा राखेकै कारण धम्की आउनुले समाज गलत बाटोमा गइरहेको भान हुने उनकी आमाको भनाइ छ। ‘मेरी छोरी कसैलाई ठग्न गएकी थिइनन्। केही गलत गरेकी छैन। त्यसैले उसले वा हामीले लाज मान्नुपर्ने केही छैन। बरु लाज त त्यस्ता कमेन्ट गर्नेलाई हुनुपर्छ,’ उनकी आमा भन्छिन्।

अमिसा आफैँ भन्छिन्, ‘यसरी प्रतिपक्षले असहमति जनाउनुभयो भने राम्रो लाग्छ। क्रिटिसिजम पढ्छु, सिक्छु। तर मेरो विरोध एउटै कुरामा छ– तर्कको जवाफ तर्कले दिनुपर्छ। यौन हिंसाका धम्कीले होइन।’

हालसम्म उनको नक्कली टिकटक अकाउन्ट बनिसकेका छन्, जहाँबाट ‘अमिसा पराजुली अफिसियल’ भन्दै मानिसहरू लाइभ बसेर गिफ्टसमेत लिइरहेका छन्। उनी स्वयं भने सबै सामाजिक सञ्जाल प्राइभेट गरेर बसेकी छिन्।

तर यी सबै आक्रमणबाट उनी थाक्नेवाली छैनन्। साइबर ब्युरोमार्फत् भिड्दै सबै स्क्रिन सट, आईडी, कमेन्टहरू संकलन गरेर राखेकी छिन्। अब न्यायिक लडाइँ लड्नुपर्ने उनको ठम्याइ छ।

‘घरमा आमाले एक झापड खाँदा छोराछोरीले नबोले, भोलि लात्ती सहनुपर्ने दिन आउँछ। एक झापडमै बोलियो भने भोलि लात्ती उठ्दैन। त्यसैले अहिले आफूले बोले भोलि अरूले यस्ता दुर्व्यवहार भोग्नु पर्दैन,’ उनी भन्छिन्।

जीवनभर महिला हकको लागि सशक्त भएर बोल्ने बताउँदै उनी थप्छिन्, ‘अब हरेक महिला त्यस्ता कमेन्ट गर्नेको फोटो र स्क्रिन सट लिएर माइतीघरमा उभिनुपर्छ। जसले हाम्रो डिफेम गर्छ, उनीहरूको पनि त्यस्तै गर्नुपर्छ। म यसको लागि अझै सशक्त भएर आउनेछु।’

एउटी सामान्य कार्यकर्ताको असाधारण साहसको यो कथा अहिले एउटा प्रश्न बनेर उभिएको छ– धारणा राख्नु अपराध हो त? र, त्यसको जवाफ यौन हिंसाको धम्कीले दिनुपर्ने कुनै बाध्यता के समाजमा अझै बाँकी छ?

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button